आईसीसी ले नेपाललाई निलम्बन गर्ने स्पष्ट संकेत

फाल्गुन ९, २०७२- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाललाई निलम्बन गर्ने स्पष्ट संकेत दिएको छ । विश्व क्रिकेटको सर्वोच्च निकायले बिहीबार नेपाली क्रिकेटसँग संलग्नहरूलाई पत्र पठाई बाध्यकारी कदम चाल्न आईसीसी अगाडि बढ्नुपर्ने स्थिति आएको जनाएको छ ।

आईसीसीका ग्लोबल डेभलपमेन्ट प्रमुख टिम एन्डरसनले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, सरकारद्वारा गठित नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष रमेश सिलवाल र सरकारको निर्वाचनलाई बेवास्ता गर्दै निर्वाचनबाट चुनिएका क्यानका महासचिव अशोकनाथ प्याकुर्‍यालको नाममा पत्राचार गरी यस्तो चेतावनी दिएको हो ।

मंसिरको अन्तिममा चतुरबहादुर चन्दको अध्यक्षतामा क्यानको निर्वाचन भएको थियो । आफ्नो स्वीकृतिबिना भएको चुनावलाई नमानेका कारण त्यसलाई सरकारले मान्यता दिएको छैन । प्याकुर्‍याल त्यही क्यानका महासचिव हुन् । पुस १८ गते राखेपले सिलवालको अध्यक्षतामा अर्को क्यान गठन गरेको थियो । त्यसविरुद्ध प्याकुर्‍याल सम्मिलित क्यानले सर्वोच्च अदालतमा मुद्दा हालेको थियो, जसको अझै निर्णय भएको छैन ।

२०१५ को नोभेम्बर ८ मा गरेको पछिल्लो पत्राचारपछि क्यानको स्थिति अझ दयनीय भएको जनाउँदै एन्डरसनले नेपाल पठाएको पत्रमा भनेका छन्, ‘नेपालको सर्वोच्च अदालतको निर्णयबारे हामी अझै स्पष्ट हुन सकेका छैनौं । यो स्थिति समाधान नभएपछि नेपाली क्यानले क्रिकेटको सर्वोच्च निकायको हिसाबमा कार्य गर्न पाउने छैन । यो एउटा दुर्भाग्यपूर्ण अवस्था हो । यो रहेसम्म नेपाली क्रिकेटले ठूलो मूल्य चुकाउनुपर्नेछ ।’

एन्डरसनले अगाडि भनेका छन्, ‘आईसीसी बोर्डलाई यो विषयमा अप्रिलमा हुने बैठकमा जानकारी गराइनेछ र स्थिति यही रहिरहेमा आईसीसी बोर्डले क्यानको निलम्बनसम्मको कारबाही गर्न सक्नेछ ।’ दुई फरक क्रिकेट बोर्ड अस्तित्वमा देखिएपछि आईसीसीले गत वर्ष नै अमेरिकालाई निलम्बन गरेको थियो । अहिले नेपाली क्रिकेट त्यही स्थितिमा आइपुगेको हो ।

एन्डरसनको पत्रले नेपालले वैशाख २ र ४ गते नामिबियासँग कीर्तिपुरमा खेल्ने विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेल पनि शंकाको घेरामा छ । ‘क्यान चलायमन नहुने हो भने नेपालको विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नामिबियासँगको खेल कसरी हुन्छ यो भन्न गाह्रो छ । यस विषयमा आईसीसीले मार्चमा आफ्नो स्पष्ट धारणा बनाउनेछ,’ एन्डरसनको पत्रमा उल्लेख छ ।

आईसीसीले नेपाललाई सर्तसहित यो खेल आयोजना गर्न दिएको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरको पूर्वाधार निर्माण सम्पन्नको प्रक्रिया र सुरक्षा प्रत्याभूति आईसीसीका सर्त हुन् । तर आईसीसीले पछिल्लो स्थितिमा क्यानको आधिकारिकतामा प्रश्नै उठाएपछि नेपालले घरेलु मैदानमा च्याम्पियनसिपका खेल खेल्न पाउन थप समय कुर्नुपर्ने देखिन्छ ।

कीर्तिपुर मैदानको पूर्वाधार स्तरोन्नति गर्न नसकेको र सुरक्षा प्रत्याभूति दिन नसकेपछि पपुवा न्युगिनीसँगको खेल नेपालले नोभेम्बरमा यूएईमा गएर खेलेको थियो । २०१५ देखि १७ सम्मको च्याम्पियनसिपका ७ खेलमा नेपालले तीन देशविरुद्धका ६ खेल घरेलु मैदानमा खेल्न पाउने आईसीसीको तालिका छ ।

एन्डरसनले पत्रमा नेपालले आईसीसीले दिने २०१४ देखिको ९ लाख डलर सहयोग रकम रोकिएको पनि जानकारी गराएका छन् । ‘राम्रो सर्वोच्च निकाय, उचित प्रशासन र आर्थिक व्यवस्थापन प्रणाली कार्यान्वयन नभएसम्म आईसीसीले दिने सहयोग रकम रोक्का भइरहने छ,’ एन्डरसनले पत्रमा भनेका छन् ।

via : ekantipur

Advertisements